Inquiry Call us

+977 [1] 5901492, +977 [1] 5901493

21 Jun 2023

‘जलविद्युत् आयोजनाको पिपिए खुरुखुरु खोल्नुस्’

‘जलविद्युत् आयोजनाको पिपिए खुरुखुरु खोल्नुस्’

अर्थमन्त्री जनार्दन शर्माले विगत चार वर्षदेखि रोकिएका विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुला गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री शर्माले फिन इलेक्ट्रो टेक २०२२ को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। मन्त्री शर्माले बिहीबार राजधानीमा आयोजित उक्त कार्यक्रममा मन्त्रीपरिषद्को बैठकले अनुमति दिँदा पनि विद्युत्को पिपिए नखुलाउनु दुर्भाग्यपूर्ण भएको बताए।

‘मन्त्रिपरिषद्को बैंठकले पनि १५ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनाको पिपिए खुलाउन अनुरोध गरिसकेको छ,’ उनले भने ‘सम्बन्धित निकायले खुरुखुरु निर्णय गरेर नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको पिपिए खुलाउन आवश्यक भइसक्यो।’ मन्त्री शर्माले जुनसुकै निकायले रोकेको भए पनि नेपालमा जलविद्युत् आयोजनाको विकासको लागि पिपिए रोक्न नहुने बताए। ‘अहिले जुन निकायले जलविद्युत् आयोजनाको पिपिए रोकेको छ त्यो निकै गम्भीर विषय हो,’ उनले भने ‘तत्कालै जलविद्युत् आयोजनाको पिपिए खुलाएर आयोजना निर्माण गर्ने बाटो खुलाउनुपर्ने बेला भइसकेको छ।’ मुख्यतः अहिले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले ऊर्जा खपत गर्न नसक्ने देखाउँदै जलविद्युत् आयोजनाको पिपिए गर्न सकेको छैन। निजी क्षेत्रका ११ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अहिले पिपिएको पर्खाइमा रहेका छन् तर सरोकारवाला निकाय प्राधिकरणको सञ्चालक समितिले भने आवश्यक निर्णय गर्न सकेको छैन।’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि जलविद्युत् आयोजनामा अर्बाै रूपैयाँ खर्च गरेर सर्वेक्षण लाइसेन्स लिएर जलविद्युत् आयोजना निर्माण गरेका व्यवसायी हतोत्साही हुन परेको बताए । ‘निजी क्षेत्रले जलविद्युत् आयोजनामा अर्बौं रूपैयाँ लगानी गरेको छ तर सरोकारवाला निकायले आयोजनाको पिपिए नगर्दा अहिले धेरै जलविद्युत् प्रवद्र्धक समस्यामा पर्नुभएको छ,’ उनले भने ‘सरकारले तुरुन्तै जलविद्युत् आयोजनाको पिपिए खुलाउन आवश्यक भइसकेको छ।’ मन्त्रिपरिषद्को बैठकले १५ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनाको प्राधिकरणको सञ्चालक समितिबाट आवश्यक निर्णय गरेर पिपिए गर्न सकिने निर्णय गरे पनि प्राधिकरणले बजारको सुनिश्चितता नभएको भन्दै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको पिपिए खुलाउन सकेको छैन।  

महासंघका कार्यवाहक अध्यक्ष ढकालले निजी क्षेत्रले उत्पादन गरेको बिजुली प्राधिकरणले नलिँदा समस्या भइरहेको बताए। ‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर जलविद्युत् आयोजना निर्माणको लागि लगानी जुटाउनुभएको छ तर प्राधिकरणले समयमै पिपिए नगर्ने हो भने जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी खेर जाने अवस्था सिर्जना हुनेछ,’ उनले भने ‘सरकारले जतिसक्दो छिटो पिपिए खुलाएर जलविद्युत् आयोजना निर्माणको बाटो खोल्नुपर्ने बेला भएको छ।’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायाममा नेपाल जलविद्युत्मा आत्मनिर्भर भएको बताउँदै हिउँदयाममा पनि केही वर्षभित्रै आत्मनिर्भर हुने बताए। ‘प्राधिकरणले विश्वसनीय र भरपर्दाे बिजुली उपलब्ध गराउन पूर्वाधार निर्माणमा जोड दिँदै आइरहेको छ,’ उनले भने ‘अब सबै मिलेर विद्युत् खपत गराउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ।’ प्राधिकरणका अनुसार अहिले २३ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ।  

कार्यकारी निर्देशक घिसिङले स्वदेशमा उत्पादन भएको बिजुली स्वदेशमा नै खपत गरेर मुलुकलाई समुद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए। ‘जतिजति विद्युतीय उपकरणहरू सस्तोमा उपलब्ध हुन्छन्। त्यति नै सर्वसाधारणको रोजाइमा विद्युतीय उपकरणहरू पर्छन्,’ उनले भने ‘नेपालमा उत्पादन भएको बिजुली स्वदेशमै खपत भएको अवस्थामा विदेशमा बेचिदैन।’

फिन इलेक्ट्रो टेक २५ गतेसम्म

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको फिन इलेक्ट्रो टेक २०२२ बिहीबारदेखि भृकृटीमण्डपमा सुरु भएको छ। महासंघले सन् २०१८ सम्म नवौं संस्करण आयोजना गरेको थियो तर सन् २०१९ को डिसेम्बरमा कोभिड १९ महामारी सुरु भएसँगै फिन इलेक्ट्रो टेक केही वर्षका लागि स्थगित गरिएको थियो। टेकमा एउटै छानामुनि इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी गरिएको छ। महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले टेकमा ७५ वटा स्टल राखिएको जानकारी दिए। ‘टेकमा इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनीको साथसाथै खरिदबिक्री गर्न समेत पाइनेछ,’ उनले भने ‘भृकृटीमण्डपको हलभित्र ४९ र बाहिर २६ गरी कुल ७५ वटा स्टलमा विभिन्न सामग्री तथा उपकरण प्रदर्शनीमा राखिएको छ।’ यो टेक मंसिर २५ गतेसम्म चल्नेछ। यो टेकको मुख्य प्रायोजकमा राठी स्वीच एण्ड केबल रहेको छ ।